News

पशुपतिमा मङ्सिर ३० गते क्षमा पुजा

प्रकाशित मिति : बिहि, मंसिर २५, २०७७

पशुपति मन्दिर
पशुपति मन्दिरमा मङ्सिर ३० गते क्षमा पुजा गरिने छ।

गएको वर्ष चैत ११ देखि भक्तजनका लागि बन्द गरिएको मन्दिर आउँदाे पुस १ गतेदेखि खुलाइँदै छ ।

अत : मन्दिर खोल्ने अघिल्लो दिन मङ्सिर ३० गते पशुपतिमा क्षमापूजा गरिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

त्यस्तै हरेक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन पशुपति मूल मन्दिर परिसरमा प्रदर्शनमा राखिने बहुमूल्य सामग्रीको प्रदर्शनी यस वर्ष नराखिने भएको छ ।

बाला चतुर्दशीको भोलिपल्ट पशुपतिको पश्चिमढोकाअघि नागमणि, एकमुखे रुद्राक्ष, गोलोचन, दाहिने शङ्खलगायतका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण सामग्री प्रदर्शनमा राख्ने परम्परा रहेकामा यस वर्ष कोरोना महामारीका कारण मन्दिर भक्तजनका लागि बन्द रहेकाले नदेखाइने निर्णय भएको खतिवडाले जानकारी दिनुभयो ।

बहुमूल्य सामग्री पशुपति मेलामा आउने भक्तजनलाई लक्ष्य गरी वर्षमा एकपटक देखाउने प्राचीन कालदेखिको परम्परा यस वर्ष स्थगित गरिएको हो ।

Related Articles

Back to top button