News

हिँडेको अमेरिका, पुगे वेश्यालय

रोजगारीका लागि अमेरिका हिडेकी गोरखाकी रक्षा भट्ट (नाम परिवर्तन) ७ महिना भारत हुँदै रोमानिया र सर्बिया पुगेर नेपाल फर्किइन् । सात महिनाको अवधिमा उनलाई अमेरिका लैजाने भनेर एजेन्टले ५ वटा देश घुमाए । अमेरिका हिंडेकी उनी अन्त्यमा रोमानिया पुगेर नेपाल फर्किएको बताउँछिन् ।

रोजगारीका लागि अमेरिका नभए क्यानडा लैजाने भनेर नेपालबाट एजेन्टले आश्वासन देखाएर लगेको रक्षाले बताइन् । ‘नेपालबाट सिधै थाइल्याण्ड जानुपर्छ भनेर हिंड्यौ । तर, भारतबाट रोमानिया हुँदै जाँदा सजिलो हुन्छ भनेर एजेन्टले भारतको मुम्बई पुर्‍याएर ७ दिनपछि थाइल्याण्ड लग्यो । थाइल्याण्डमा एक महिना राख्दा हरेक साता एजेन्टले परिवारसँग भिसा आयो भन्दै पैसा मागे,’ उनले भनिन्, ‘घरबाट हिडेदेखि करिब सर्बिया भन्ने देश पुग्दासम्म एजेन्टले परिवारसँग १५ लाख रुपैयाँ लिए । थाइल्याण्ड पुगेपछि मात्र थाहा भयो एजेन्टले अमेरिका पठाउँछु भनेर ठगी गरेको रहेछ भनेर ।’

विराटनगरका एलबी गौतम भन्ने एजेन्ट थाइल्याण्डमा छन् । उनले नेपालमा एजेन्ट राखेर अमेरिका, क्यानडा र यूरोपका देश रोजगारीमा पठाइदिने भन्दै धेरै व्यक्तिलाई ठगी गर्दै बसेको उनको भनाइ छ । थाइल्याण्डमा क्यानडा, अमेरिका र यूरोपका विकाशित देश हिडेका धेरै नेपाली अलपत्र अवस्थामा एजेन्टलाई पैसा खुवाएर बसेको भेटेको रक्षाले जानकारी दिइन् ।

ओशो, हार्ट इन्टरनेसनल क्याची एजुकेशन एण्ड ट्रेनिङ् कन्सल्टेन्सीले धेरै मान्छे अमेरिका लैजाने भनेर रोमानिया र थाइल्याण्डमा अलपत्र पारेर राखेको भेटिएको रक्षा बताउँछिन् ।

बाटोमै लाश ग्याप गर्ने धम्की

रक्षालाई पुतलीसडकमा रहेको भिजन अफ कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर भनिने कपिल बुढामगरले अमेरिका रोजगारीमा पठाइदिने भनेर नेपालमा थाइल्याण्ड पुर्‍याएका थिए । भट्ट हाल, एजेन्ट र कन्सल्टेन्सीका नाममा उजुरी गर्न वैदेशिक रोजगार विभाग र प्रहरी अपराध महाशाखा धाइरहेकी छिन् ।

३ जना एजेन्टका नाममा रोजगारीका नाममा ठगी र मानव बेचबिखनसम्बन्धी उजुरी दर्ता गरेको विभागमा भेटिएकी रक्षाले बताइन् । ‘भारत हुँदै थाइल्याण्ड, टर्की, हंगेरी, बुल्गारिया, मोल्दोवासम्म पुगेर फर्किए । भारत र थाइल्याण्डमा रोजगारीका नाममा मानव तस्करी गर्ने धेरै नेपाली दलाल छन् । उनीहरु नेपालमा एजेन्ट राखेर विकाशित देशको रोजगारीमा पठाइदिने भन्दै ठगि गरिरहेका छन्,’ उनले भनिन्, ‘अवैध बाटो भएर अमेरिका हिडेको नेपाली दिदीबहिनी बाटोमै एजेन्टले बलात्कार गर्छन् । एजेन्टलाई केही भनेर प्रतिकार गर्न खोज्दा बाटोमा मारेर फाल्ने धम्की दिन्छन् ।’

नेपालको सिमाना नाघेपछि ‘भनेको मानेनौ भने बाटोमै मारेर गायब गर्ने’ एजेन्टले बारम्बार धम्क्याउने गरेको उनको भनाइ छ । नेपालदेखि रोजगारीमा विकाशित देश हिडेका कतिपय महिलालाई एजेन्टले जबरजस्ती वेश्यालयमा पुर्‍याउने गरेको प्रत्यक्ष देखेको उनले अनुभव सुनाइन् । रोजगारीका लागि हिडेका केटीलाई बाटैपिच्छे एजेन्टले शोषण गर्ने गरेको उनको भनाइ छ ।

Related Articles

Back to top button