News

म्यानपावर र ट्राभलको अवैध भिजिट भिसा सेटिङ, कुन देश जाने कामदारलाई नै थाहा छैन

कोरोना भाइरसको महामारीबीच केही म्यानपावर कम्पनी र ट्राभल एजेन्सीले भिजिट भिसा अवैध रुपमा कामदार पठाउन थालेको पाइएको छ । भिजिट भिसामा कामदार पठाउन पासपोर्ट संकलन गरिरहेका ४ वटा म्यानपावरलाई शुक्रबार वैदेशिक रोजगार विभागले छापा हानेको थियो ।

विभागले भिजिट भिसामा कामदार पठाउन पासपोर्ट संकलन गरिरहेका सिनामंगलस्थित स्काई अफ द वोड, इम्पावर ह्युमेन रिसोर्सेज म्यानेजमेन्ट प्रालि, सुर्खेत ओभरसिज प्रालि र स्काई ब्लु इन्टरनेशनल ओभरसिज प्रालिमा आकस्मिक अनुगमन गरेको थियो । ती म्यानपावरले भिजिट भिसामा कामदार पठाउन प्रयोग गरेको राहदानी र केही महत्वपूर्ण कागतजागत जफत गरेको विभागले जनाएको छ ।

भिजिट भिसामा कामदार पठाउन म्यानपावरसँगै ट्राभल एजेन्सी समेत सक्रिय रहेको तथ्य फेला परेको छ । स्काई ब्लु इन्टरनेशनल ओभरसिज प्रालिसँग मिलेर मल्टिपल ट्राभल एण्ड टुर्स प्रालिले भिजिट भिसामा कामदार पठाइरहेको विभागका अनुगमन अधिकृत कुशल बरालले जानकारी दिएका छन् ।

शुक्रबार वैदेशिक रोजगार विभागले भिजिट भिसामा कामदार युएई पठाउनका लागि राहदानी संकलन गर्दै आएका ४ वटा म्यानपावर र एउटा ट्राभल छापा हानेको विभागका अनुगमन अधिकृत बरालले बताए । ‘भिजिट भिसामा जानु नराम्रो पक्ष होइन । तर, भिजिट भिसामा भनेर वैदेशिक रोजगारीमा कामदार पठाउनु अवैध धन्दा हो । यस्तो काम गर्ने व्यक्तिगत र संस्था दुवैलाई कारवाही हुन्छ,’ उनले भने, ‘ट्राभल एजेन्सीले भिजिट भिसामा कामदार पठाउनु अवैध हो । भिजिट भिसाका नाममा महिला कामदार खाडीका देश पुर्‍याउने गरेका छन् । यसरी महिला कामदार खाडीका देश पुर्‍याउन सञ्जाल भत्काउन विभाग लागि परेको छ ।’

दर्जनभन्दा धेरै ट्राभल एजेन्सी भिजिट भिसामा कामदार पठाइरहेको सूचना विभागमा आएको उनको भनाइ छ । विभागले सुर्खेत म्यानपावरले भिजिट भिसामा ११ जना कामदार युएई पठाउन लागेको राहदानीसहित केही कागतजात समेत फेला परेको थियो ।

भिजिट भिसामा कामदार पठाउने म्यानपावरलाई कारवाही

अनुगमन गरेको म्यानपावर र ट्राभल एजेन्सीबाट २ हजारभन्दा धेरै राहदानी फेला परेको विभागले जनाएको छ । कतिपय म्यानपावरले भिजिट भिसामा कामदार पठाउन कागतजात समेत बनाइरहेको कम्प्युटर समेत जफत गरेर अनुगमन सुरु गरेको विभागका महानिर्देशक कुमारप्रसाद दहालले जानकारी दिए ।

भिजिट भिसामा जानु नराम्रो पक्ष होइन । तर, भिजिट भिसामा भनेर वैदेशिक रोजगारीमा कामदार पठाउन अवैध धन्दा हो । यस्तो काम गर्ने व्यक्तिगत र संस्था दुवैलाई कारवाही हुन्छ । -कुशल बराल (अनुगमन अधिकृत, वैदेशिक रोजगार विभाग )
कोरोना भाइरसका कारण बन्द भएको अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएपछि म्यानपावरका एजेन्ट र व्यक्तिले यूएई भिजिट भिसामा कामदार पठाइरहेको विभागले सूचना पाएका आधारमा अनुगमनलाई तीब्रता दिइरहेको उनको बताए । ‘भिजिट भिसामा कामदार पठाउने म्यानपावरलाई कानुनी कारवाही हुन्छ । भिजिट भिसामा कामदार पठाउन म्यानपावरलाई वैदेशिक रोजगार ऐनअनुसार कारवाही हुन्छ,’ उनले भने, ‘कोरोना भाइरसको महामारीमा भिजिट भिसामा जान सक्ने अवस्था छैन । यस्तो बेला भिजिट भिसामा कामदार पठाउनु नै रहस्यको विषय हो ।’

Alfa Care NepalNCell
भिजिट भिसामा जाने व्यक्ति कुन भिसामा जाँदैछौं भनेर बेखबर छन् । कतिपयलाई प्रलोभन देखाएर भिजिट भिसाको व्यापार भइरहेको उनको भनाइ छ ।

भिजिट भिसामा यूएई जाने व्यक्तिसँग टिकटसहित सेटिङका लागि प्रतिव्यक्ति २ लाख ५० हजार रुपैयाँ दलाललाई बुझाउने गरेको भिजिट भिसामा जाने महिलाहरुले बताएका छन् । नेपालमा भिजिट भिसामा जाने प्रायः सबै राति २ बजेको एयर अरेबियाको उडानमार्फत पठाइने गरिएको छ । भिजिट भिसामा प्राय: महिलाहरु मात्र पठाइरहेको सूचना आएको विभागले जनाएको छ ।

सरकारले भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाए पनि मानव तस्करले सेटिङ मिलाएर नेपाली कामदार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो पठाइरहेका छन् । हाल दैनिक युएई भिजिट भिसा २ सयभन्दा धेरै नेपाली दलालले पठाइरहेका छन् । जसमध्ये १ सय ५० जना महिला रहेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ ।

तस्करले अध्यागमन विभागका कर्मचारी, प्रहरी र एयरलाइन्सका कर्मचारीबीच सेटिङ मिलाएर भिजिट भिसा भएकालाई उतै काम गर्ने गरी खाडी मुलुक पठाउने गरेका हुन् ।

यूएईलगायतका विभिन्न देशमा राम्रो काम र सेवासुविधाको प्रलोभनमा भिजिट भिसामा पठाएका श्रमिकहरू ठगीमा पर्ने क्रम सुरु भएको भन्दै प्रलोभनमा परी भिजिट भिसामा वैदेशिक रोजगारीमा नजान विभागले सूचना समेत जारी गरेर सम्बन्धित निकायसँगै व्यक्तिलाई जानकारी गराएको छ ।

Related Articles

Back to top button