News

१तालखर्कलाई पछिल्लोपटक पर्यटकीय गन्तव्य बनाउने प्रयास

प्रदेश १तालखर्कलाई पछिल्लोपटक पर्यटकीय गन्तव्य बनाउने प्रयास
पालिका न्यूज | रासस
२० मंसिर २०७७, शनिबार १०:०९
SHARETWEET

पाँचथर : फिदिम–फालोट सडक हुँदै फालेलुङ–६ को बरभञ्ज्याङ पुगेपछि बाक्लो बस्ती सकिन्छ । क्षित्तिज देखिने थुम्का–थुम्का पहाडतर्फ झण्डै एक घण्टा यात्रा गरेपछि पुगिन्छ, तालखर्कअर्थात् ‘गुरुङ गाउँ’ । जति उकाली चढ्यो त्यति रमाइलो हुने पहाडी विशेषतामा रम्दै पुगिन्छ गुरुङ गाउँ । गुरुङ गाउँ पुगेपछि भने रमाइलोमा अझ रमाइलो र मौलिक विशेषता थपिन्छन् ।

अग्ला थुम्का–थुम्का डाँडाको काखमा, वरिपरि जङ्गल र चौरको बीचमा रहेका करिब डेढ दर्जन घरको बस्ती हो तालखर्क । यहाँ गुरुङ समुदायको मात्रै बसोबास रहेको हुनाले यसलाई गुरुङ गाउँ पनि भनिएको हो । एकै समुदायको बसोबास भएकै कारण यहाँका बासिन्दाका आफ्नै मौलिकता र विशेषता छन् । आफैँमा पृथक पहिचान बोकेको तालखर्कलाई पछिल्लोपटक पर्यटकीय गन्तव्य बनाउने प्रयास शुरु भएको छ ।

पर्यटन प्रवद्र्धनका प्रशस्त सम्भावना देखिएपछि तालखर्कका बासिन्दालाई घरबास (होमस्टे) सञ्चालन तथा पाक कलासम्बन्धी तालीम दिइएको छ । पर्यटक रमाउने यहाँका रमणीय क्षेत्र तथा वस्तु पर्यटकलाई चिनाउन स्थानीयवासीलाई प्रकृति प्रदर्शक तालीम सञ्चालन गरिएको छ । जैविक विविधता तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय यहाँको दीपज्योति युवा क्लबले यी तालीम सञ्चालन गरेको हो । तालीमका लागि रेडपाण्डा नेटवर्कको सहयोग र फालेलुङ गाउँपालिका–६ ले संयोजन रहेको थियो ।

तालखर्कलाई मुख्य प्राथमिकतामा राखेर सञ्चालित पाँच दिने तालीममा जिल्लाको फिदिम नगरपालिका, फालेलुङ र याङवरक गाउँपालिकाका स्थानीयवासीसमेत सहभागी थिए । तालखर्कमा पूर्ण अर्गानिक खाना खान पाइन्छ । हामीले यिनै अर्गानिक खानाका परिकार स्वादिष्ट बनाई पर्यटकको भोक मेटाउन, पर्यटकको स्वागत तथा सत्कार गर्न स्थानीयवासीलाई सक्षम र जागरुक गराएका हौँ, दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले भन्नुभयो । लेकाली भेगमा मौसमअनुसार पाइने स्थानीय उत्पादन यहाँ पुग्ने पर्यटकले धित मरुञ्जेल खान पाउनेछन् । यहाँका स्थानीयवासीका मौलिक रहनसहन, परम्परा र संस्कार छन् । यसले पर्यटकलाई झनै लोभ्याउने हाम्रो विश्वास हो, बान्तवाले भन्नुभयो ।

तालखर्कको शिरमा यहाँका सबै जातिले समान आस्था र विश्वास राख्ने बूढीथाम धार्मिक पर्यटकीय क्षेत्र रहेको छ । यहाँसम्म सिँढी मार्ग विस्तार गरिएको छ भने भ्यू–टावर निर्माण भइरहेको छ । बूढीथाम क्षेत्र कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल सामुन्नेमा हेर्न निकै आकर्षक गन्तव्य मानिन्छ । तालखर्कबाट झण्डै एक घण्टा यात्रा गरेपछि सदावहार बगिरहने मुवा झरना पुगिन्छ ।

यिनै विशेषता रहेको तालखर्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने प्रशस्त आधार रहेको ठान्नुहुन्छ यहाँका स्थानीयवासीलाई घरबास, पाककला तथा प्रकृति प्रदर्शनसम्बन्धी तालीम दिन चितवनबाट आइपुग्नुभएका रमेश चौधरी । यहाँको आतिथ्यता र सत्कार नै सबैभन्दा उत्कृष्ट छ, चौधरीले भन्नुभयो, यस्तै यो स्थान चराको अवलोकनका लागि पनि उत्कृष्ट रहेछ ।

तालखर्कसहितका यहाँका उच्च पहाडी क्षेत्र रातोहाब्रे (रेडपाण्डा) समेत पाइने स्थान हो । तालीमले तालखर्क पर्यटक भित्र्याउने उपयुक्त गन्तव्य बन्नसक्छ भन्ने देखिएको छ, तालीमका प्रशिक्षक रमेश राईले भन्नुभयो, “स्थानीयवासी निकै जागरुक देखिएका छन् । यी स्थानका अतिरिक्त जिल्लाका अन्य स्थानमा समेत भ्रमण गर्न चाहने पर्यकटकका लागि लक्षित गरी तालखर्कभन्दा बाहिरका स्थानका स्थानीयवासीलाई प्रकृति प्रदर्शक तालीम दिइएको छ ।

फालेलुङ–६ का वडाध्यक्ष सुजाता बान्तवा मौलिकताले भरिएको तालखर्कलाई पर्यटकीय गन्तव्य बनाउन घरबासलाई व्यवस्थित गर्नुपर्ने औँल्याउनुहुन्छ । घरबासलाई व्यवस्थित गरी स्थानीय परिकार र मौलिकता सम्वद्र्धनमा हामी सबैको जोड हुनुपर्छ, वडाध्यक्ष बान्तावले भन्नुभयो, सरकारले गर्न नसकेको काम दीपज्योति युवा क्लबले गरेको छ ।

अब सरकारी सहयोग अवश्य प्राप्त हुनेछ । पर्यटकीय गन्तव्य निर्माणका लागि देखिएको सपना पूरा गर्न केही वर्ष लाग्ने भन्दै उहाँले अब उक्त स्थानमा गुरुङ समुदायको पहिचानसँग जोडिएको भेडापालनका लागि गाउँपालिकाबाट सहयोग जुटाउने बताउनुभयो ।

स्थानीयवासीका लागि आयोजित तालीमको समापनका लागि तालखर्क पुग्नुभएकी प्रदेश १ प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेबेले पर्यटन विकास र सोमार्फत स्थानीयवासीको आयआर्जन वृद्धिका लागि ग्रामीण पर्यटन प्रवद्र्धन अनिवार्य रहेको बताउनुभयो ।

हेला गरिएका स्थानीय उत्पादनबाट बाहिरका मान्छेलाई आकर्षण गर्ने र स्थानीयवासीले आयआर्जन अभिवृद्धि गर्ने होमस्टेको विकास ग्रामीण पर्यटन प्रवद्र्धनको मुख्य माध्यम बन्नसक्छ, सभापति थेबेले भन्नुभयो, यस कार्यमा प्रदेश सरकारले पनि सहयोग गर्दै आएको छ । कोभिड–१९ को महामारीसँग जुध्ने क्रममा पनि तीनै तहका सरकारले पर्यटन विकासका कामलाई प्राथमिकतामै राखेको बताउँदै सभापति थेबेले अब पर्यटन क्षेत्रलाई खुल्ला गरी पूर्वाधार र प्रचारप्रसारमा जोड दिइनुपर्ने बताउनुभयो ।

तालखर्कमा पर्यटन प्रवद्र्धनका लागि तालीमका अतिरिक्त दीपज्योति युवा क्लबले सबै स्थानीयवासीलाई आधुनिक चुलोसमेत वितरण गरेको छ । करिब रु ५५ हजार मूल्य पर्ने चुलो रु पाँच हजार ढुवानी खर्चमा स्थानीयवासीले प्राप्त गरेका छन् । क्लबले सबै घरमा घरबास सञ्चालनका लागि घरबास दर्ता र व्यवस्थापनमा समेत सहयोग गर्ने क्लबका कार्यकारी निर्देशक बान्तवाले जानकारी दिनुभयो ।

घरबास सञ्चालन, पाककला र प्रकृति प्रदर्शक तालीमले सानो गाउँको मुहार फेर्न र प्रशस्त आम्दानी लिनसक्ने बनाउन सहयोग पुगेको यहाँका स्थानीयवासीसमेत रहनुभएका फालेलुङ–६ का वडासदस्य कमल गुरुङले बताउनुभयो । दुर्गम नै भए पनि अब तालखर्क पुग्न त्यति कठिन छैन ।

फिदिम–फालोट सडकले फालेलुङ–६ बरभञ्ज्याङसम्म जोडेको छ । यो सडक यसै आवमा कालोपत्रे पूरा हुने चरणमा छ । सोभन्दा माथिको क्षेत्रमा समेत गाउँपालिकाले रु २० लाख बजेट छुट्टयाइ सडक मर्मत गरेको वडाध्यक्ष बान्तवाले जानकारी दिनुभयो ।

Related Articles

Back to top button