News

सीमा नाका आवतजावत : कतै सास्ती, कतै मस्ती

12 मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय (जिप्रका), रौतहटले बिहीबारदेखि गौर नाकाबाट नेपाली नागरिकलाई भारततर्फ जान अनुमति दिने निर्णय गर्‍यो ।

स्थानीयले दुई साता लामो धर्ना दिएपछि जिप्रका यो निर्णयमा पुगेको हो । नौ महिनादेखि बन्द नेपाल भारत सीमा नाकामा आवागमन खुला गर्नुपर्ने माग गर्दै रौतहटको गौरमा स्थानीयले थाल ठटाएर प्रर्दशन गरेका थिए ।

नागरिक समाजको अगुवाईमा स्थानीय प्रशासनमा ज्ञापन पत्र बुझाएका थिए । धर्नाको अगुवाई गरेका नागरिक समाजका अध्यक्ष जगरनाथ केशरी भन्छन्, ‘नौ महिनादेखि नाका बन्द हुँदा हामीले धेरै दुःख पायौं । दिपावली, छठमा कति दुःख भयो सबैले महसुस गरेका छौं ।’

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव भन्छन्, ‘सरकारले २४ साउनमा रौतहटको गौर नाकालाई प्रवेश नाका तोकिएको थियो । हामीले अभिलेख राखेर नेपाली नागरिकलाई प्रवेश दिने र क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएका थियौं ।’

तर लामो समयसम्म भारत प्रवेश रोक्दा समस्या भएको भन्दै स्थानीयको आन्दोलनपछि गृह मन्त्रालयसँग परामर्श गर्दा ‘प्रवेश नाकाबाट आउन दिने मात्र होइन, बाहिरिन दिने पनि हो’ आएकाले नेपाली नागरिकको अभिलेख राखेर भारत जान दिने निर्णय भएको उनले बताए ।

प्रजिअ यादवका अनुसार अब नेपाली नागरिक गौर नाकाबाट भारत प्रवेश गर्न पनि सक्छन् । बिहे र उपचार जस्ता अत्यावश्यक अवस्थामा एउटा सवारी पनि लैजान पाइने उनले जानकारी दिए ।

वैधानिक रुपमा भारत प्रवेश गर्न रोक्दा अवैध बाटो (प्रवेश रोकिएका सहायक नाका तथा चोरबाटाहरू) प्रयोग गरेर भारत जाने गरेको नागरिक समाजका अध्यक्ष केशरी बताउँछन् ।

‘हामीले भनेको पनि वैध बाटो खोलौं, चेकजाँच गरौं’ उनले भने, ‘यदि कसैले गलत गर्छन् भने जहाँबाट आएका छन्, त्यति फर्काउन सकिन्छ । कोही संक्रमित छन् भने उसलाई पनि रोक्न सकिन्छ ।’

रौतहट मात्र होइन, भारतसँग सीमा जोडिएका अधिकांश जिल्लामा त्यस्तै भइरहेको छ । सरकारले मुख्य नाकाबाट भारत जान रोकेको छ तर, अवैध बाटो भएर आउजाउ भइरहेको छ ।

हालै मोरङ, विराटनगर महानगरपालिका–१६ स्थित दक्षिण गेट पुग्दा त्यस्तै दृश्य देखियो । दशगजा नजिकै रहेको विराटनगर जुट मिलको भग्नावशेषबाट मानिसहरू सहजै नेपाल प्रवेश गरिरहेका थिए ।

एक महिला हातमा झोला बोकेर नेपालतर्फ आइरहेकी थिइन् । त्यहाँ रहेका प्रहरी जवानले रोक्न खोजे, तर ‘मेरो त बच्चा छ भाइ, जान दिनून’ भन्दै आफ्नो बाटो लागिन् ।

सरकारले प्रवेश विन्दुका रुपमा तोकेको १० नाकाका विराटनगरको रानी पनि छ । स्थानीय प्रशासनले नेपालीलाई भारतबाट मात्र आउन दिन्छ, यताबाट जान रोकेको छ । तर अवैध बाटो प्रयोग गरेर भारत पुग्ने क्रम रोकिएको छैन ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का भारतबाट दैनिक १५० देखि २०० जनासम्म नेपाल आउने गरेको बताउँछन् । यसरी आउनेहरूमा किनमेलका लागि भारत पुगेर फर्किनेहरूको संख्या उल्लेख्य छ । सीमावर्ती बजार जोगवनीमा दैनिक उपभोग्य बस्तु, लत्ताकपडा सस्तोमा पाउने भन्दै नेपाली नागरिकहरू जोखिम मोलेरै पुग्ने गरेका छन् ।

पछिल्लो पटक प्रवेश विन्दु तोकिएको बैतडीको झुलाघाटमा पनि भारतबाट आउन खुला गरिएको छ । तर नेपालबाट भारततर्फ प्रवेश दिइएको छैन । दैनिक उपभोग्य वस्तु किनमेलमा समेत असहज भएको भन्दै स्थानीयले विरोध गरे ।

भारतीय पेन्सनरहरू पनि समस्या परे । त्यसैले जिल्ला प्रशासन कार्यालयले ५ दिन (८–१२ गतेसम्म) का लागि भारततर्फ जान पनि दिइएको छ । तर त्यही २४ साउनमा प्रवेश विन्दु तोकिएको केही नाकाको दृश्य भने निकै फरक छ । कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरिफान्टा नाकाबाट नेपालीहरू रोजगारीकै लागि भारत जाने गरेका छन् । हरेक दिन भारत जानेहरूको लाइन देखिन्छ ।

रुपन्देहीको सुनौली नाकाबाट पनि नेपालीहरू रोजगारी तथा किनमेलका लागि भारत जाने गरेका छन् । प्रहरी चौकी, बेलहियाका इन्चार्ज ईश्वरी अधिकारीका अनुसार नेपालबाट हरेक दिन सरदर एक हजार नेपाली रोजगारी तथा अन्य कामका लागि भारततर्फ जाने गरेका छन् ।

तर सीमा क्षेत्रमा तैनाथ एसएसबी, भारतीय प्रहरीलाई घुस दिनु परेको गुनासो नेपालीहरूको छ । भारत जाने नेपालीलाई शुरुमा फारम भर्न लगाइन्छ । निःशुल्क पाइने फारमलाई बिचौलियाले भारु २५ देखि ५० लिन्छन् । त्यसपछि भारु हजारदेखि तीन हजारसम्म लिएर मात्र प्रवेश दिने गरिएको बेलहियाका नागरिक अगुवा राम बस्नेतले बताए ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका सूचना अधिकारी जनक थापा पनि घुस लिएको सुन्नमा आएको, तर उजुरी गर्न प्रशासनमा केही पनि नआएको बताउँछन् ।

पर्साको वीरगञ्ज नाकामा पनि ६ कात्तिकबाट मानिसहरू आवतजावत खुला गरिएको छ । त्यसअघि मुख्य नाकाबाट नभई खेततिरबाट सर्वसाधरण ओहोरदोहोर गरिरहेका थिए । भारतले ६ कात्तिकदेखि नेपालतर्पmका सीमाना खुला गरेपछि वीरगञ्ज–रक्सौल नाकामा आवागमन बाक्लिएको छ । रोजगारी र व्यवसायका लागि मात्रै होइन, किनमेलका लागि पनि भारतीय बजार पुग्छन् ।

वीरगञ्ज–२ का वडा अध्यक्ष बैजु स्वर्णकार भन्छन्, ‘नाकाबाट मान्छे आवतजावत गरिरहेकै छन्, मोटरसाइकलमा ओहोरदोहोर भइरहेकै छ । अब खाली चार चक्के गाडी बाँकी भो । त्यो पनि खोलिदिए हुन्थ्यो ।’

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भने टाढाबाट आउनेहरू क्वारेन्टिन बस्नुपर्ने प्रावधान कायमै रहेको दाबी गर्छन् ।

‘कम्पनीमा काम गर्न वा अन्य कामले भारतको टाढाका सहरबाट आएका छन् भने अनिवार्य क्वारेन्टिन बस्नुपर्छ’ उनले भने ‘बारा, पर्साका सर्वसाधरण भने पैदल आउजाउ गर्छन् । त्यसरी ओहोरदोहोर गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न भनेका छौं ।’

Related Articles

Back to top button