News

जोखिम भत्ता नपाएको भन्दै मेची अञ्चल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

सरकारले तोकेको स्वास्थ्य जोखिम भत्ता नपाएको भन्दै झापाको भद्रपुरस्थित मेची अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारीहरू आन्दोलित भएका छन्।

कोभिड-१९ को जोखिम मोलेर काम गरे पनि सरकारले घोषणा गरेको ‘जोखिम भत्ता’ नपाएको भन्दै मंगलबारदेखि उनीहरू आन्दोलित भएका हुन्।

सरकारले कोरोनाको उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने आश्वासन दिएको थियो। स्वास्थ्यकर्मीले सरकारले दिन्छु भनेको जोखिम भत्ता नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए।

उनीहरूले पहिलो चरणमा विरोधस्वरुप मंगलबारदेखि हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिँदै आन्दोलन सुरू गरेका छन्।

पहिलो चरणको आन्दोलन जारी रहेको अस्पतालका मेडिकल अफिसर डा. लेनिश पोखरेलले बताए।

मेची प्रादेशिक अस्पतालमा कार्यरत् चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले पाँच महिनादेखि भत्ता नपाएको उनले सेतोपाटीलाई बताए।

डा. पोखरेलले तत्काल स्वास्थ्यकर्मीलाई सरकारले दिन्छु भनेको भत्ता उपलब्ध गराउन माग गर्दै प्रदेश सरकार, स्थानीय प्रशासन र अस्पताल विकास समितिलाई निवेदनसमेत दिएको जानकारी दिए।

पहिलो चरणको आन्दोलनबाट पनि स्वास्थ्यकर्मीको माग सुनुवाइ नभए २४ गतेदेखि अस्पतालको ओपिडि सेवात बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले असारमै जोखिम भत्ताका लागि सम्पूर्ण कागजातसहितको‌ हिसाब प्रदेश नम्बर १ को सामाजिक मन्त्रालयमा पठाइसकिएको जानकारी दिए।

उनले प्रक्रिया पुर्‍याएर काम गर्नुपर्दा रकम निकासामा केही ढिलो भएको हुनसक्ने बताए

Related Articles

Back to top button