News

‘बेसार पानीको भर नपरेर अलि चाँडो अस्पताल ल्याएको भए बुवा बाँच्नुहुन्थ्यो कि!’

कोरोना संक्रमण देखिएपछि हिजोआज म पाटन अस्पतालको आइसोलेसनमा छु।

मेरो आमा, भाइ, र छोरा पाटनकै आइसोलेसनमा छौं। हामीलाई यहाँ एउटै कोठामा बस्ने व्यवस्था अस्पतालले मिलाएको छ। आमालाई डाइबेटिजले पनि पिरोलेको छ। कोरोनासँगै डाइबेटिज उच्च विन्दुमा पुगेकोले उहाँलाई गाह्रो भइरहेको छ।

मेरो बुवा पनि पाटन अस्पतालमै हुनुहुन्थ्यो। ७४ वर्षीय उहाँको भदौ ८ गते मृत्यु भयो। उहाँ पनि कोरोना संक्रमित हुनुहुन्थ्यो।

गत साउन अन्तिम साता बुवामा कोरोना देखिए पनि केही दिन घरमै राख्यौं। हामीलाई सल्लाह दिनेहरूले बेसार पानी, तातोपानी खाँदा निको हुन्छ भनिदिए। त्यसैले बुवालाई अस्पताल ल्याउन पनि केही दिन ढिला भयो। कोरोना देखिनेबित्तिकै उहाँलाई मैले अस्पताल किन ल्याइनँ होला? बचाउन सकिन्थ्यो कि! अहिले मलाई यो कुराले निकै पीडा भइरहेको छ।

हामी काठमाडौंको विशालनगर बस्छौं। मेरो बुवा यज्ञमान श्रेष्ठ समाजसेवा र राजनीतिमा लाग्नुभएको धेरै समय भएको थियो। उहाँलाई धेरैले चिन्छन् पनि। विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरममा बुवा काठमाडौं जिल्ला अध्यक्ष भएर काम गर्नुभयो। उहाँ इमान्दार हुनुहुन्थ्यो, ढाँट-छल गरेको मलाई याद छैन।

यहाँ अस्पतालले हामीलाई सक्दो सहयोग गरिरहेकै छ। डाक्टर तथा नर्सहरू आवश्यकताअनुसार रहेनछन् कि क्या हो अलि थौरै देख्छु। राम्रो रेस्पोन्स गरिरहेका छन्। डाक्टरहरू बेलाबेला चेकअप गर्न आइरहन्छन्।

हामीलाई कसरी कोरोना लाग्यो नै थाहा छैन। गत साउनको कुरा हो, म घरमा सुतिरहेको थिएँ, छोराले ज्वरो आयो भन्यो। छोरा र मेरो बुवासँगै सुत्नुहुन्थ्यो। जताततै कोरोनाका कुरा भइरहेका बेला ज्वरो आएको भनेपछि म झस्किएँ। तुरून्तै बुवा र छोरा ह्याम्स अस्पताल लगें।

अस्पताल छिर्नुअगाडि त्यहाँ ज्वरो नाप्ने रहेछन्। दुबैको ९७ देखायो। हामीसँग बुवाको एक जना साथी पनि सँगै जानुभएको थियो। दुई जनाकै कोरोना परीक्षण नगरौं एकजनाको मात्रै गरौं पोजेटिभ देखिए फेरि गरौंला भन्ने कुरा भयो।

Related Articles

Back to top button