News

धरानमा प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमित पुरुषको निधन

कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी गरिएको एक संक्रमितको मृत्यु भएको छ ।

आइतबार साँझ धरान–८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डाक्टर दिनेश सापकोटाका अनुसार साउन ३० मा भर्ना गरिएका पुरुषमा पहिलो प्लाज्मा थेरापी गरिएको थियो ।

‘उपचारका लागि ल्याउँदा अवस्था गम्भीर बनिसकेको थियो,’ अस्पतालका प्रमुख फिजिसियन डा. दिपक सिग्देलले भने,‘उपचारको क्रममा मृत्यु हुन पुग्यो ।’ मृतक पुरुष अवकाश प्राप्त शिक्षक रहेको खुलेको छ ।

मृतक पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकका परिवारमा दुई वर्षीया नाबालिकासहित अरु तीन जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । मृतककी श्रीमती, २५ वर्षीया बुहारी र दुई वर्षीया नातिनीमा संक्रमण देखिएको हो । स्वास्थ्य अवस्था सामान्य रहेका तीनै जना अहिले ‘होम आइसोलेसन’मा छन् ।

शनिबार मात्रै धरान–१५ का ६७ वर्षीय पुरुषको प्याज्मा थेरापी गरिएको भोलिपल्ट मृत्यु भएको थियो ।

सुनसरीको धरानमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ३ पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । जसमध्ये १४ जना मोरङ र तीन जना सुनसरी धरानका रहेका छन् ।

Related Articles

Back to top button