News

बिहानै निषेधाज्ञा उल्लङ्घन गर्ने एक सयभन्दा धेरै गाडी कारबाहीमा

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा बिहानै निषेधाज्ञा अवज्ञा गर्ने झण्डै १ सयभन्दा धेरै गाडी कारबाहीमा परेका छन् ।पछिल्लो २४ घण्टामा ७४७ वटा र आज बिहान मात्रै झण्डै एक सय गाडी कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

हिजो होल्ड गरिएका ७४७ गाडीलाई राति ८ बजे छाडिएको थियो । निषेधाज्ञा उल्लङ्घनको घटना बढेमा स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

ऐनअनुसार ५ सय रुपैयाँसम्म जरिवाना वा १ महिना कैद अथवा दुवै सजाय हुन सक्छ । काठमाण्डौ, भक्तपुर र ललितपुरमा सङ्क्रमणको दर बढेपछि प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णय अनुसार उपत्यकामा गएको बिहीबारदेखि १० गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ ।

अबको दुई वर्षभित्रमा कोरोना नियन्त्रणमा आउँने : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अबको दुई वर्षभित्रमा कोरोना भाइरस नियन्त्रणमा आउन सक्ने आशा गरेको छ । संगठनका महानिर्देशक डाक्टर टेड्रोस एडनाम गेब्रेयेससका अनुसार सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूको तुलनामा कोरोना नियन्त्रणमा आउन सक्ने देखिएको छ । अहिलेको उपचार पद्धतिले कोरोनालाई दुई वर्षभित्रमा नियन्त्रणमा लिन सक्ने उहाँले बताउनुभयो ।

स्पेनिस फ्लू पनि दुई वर्षमा नियन्त्रणमा आएको भन्दै उहाँले अबको दुई वर्षमा कोरोनालाई पनि नियन्त्रण गर्न सकिने एउटा आशा देखिएको उहाँले बताउनु भएको हो । उहाँले एक अर्कोको सम्पर्कमा आएकै कारण विश्वमा कोरोना फैलिएको पनि बताउनु भएको छ ।

स्पेनिस फ्लूका कारण सन् १९१८ देखि १९२० सम्ममा कम्तीमा पाँच करोड मानिसको ज्यान गएको थियो ।कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म झण्डै ८ लाख मानिसको ज्यान गएको छ ।

Related Articles

Back to top button