News

एउटै अस्पतालका १९ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि

धनगढी । अछामको बयालपाटा अस्पतालका १९ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा.विकास गौचनले जानकारी दिनुभयो । संक्रमण पुष्टि हुनेमा डाक्टर,नर्स अस्पतालका प्रयोगशालाकर्मी तथा कर्मचारी रहेका छन् । यसअघि अस्पतालका दुई कर्मचारीलाई संक्रमण भएपछि आकस्मिक बाहेकका सेवा बन्द गरिएको थियो ।उता लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नर्सहरूले अस्पतालमै गीत गाएर तीज मनाउँदै सन्देश बाँडेका छन्।

कोरोनाबाट बच्ने सन्देशमूलक गीत गाउँदै उनीहरूले तीज मनाएका हुन्। कोरोना महामारीमा दिनरात जनताको उपचारमा खटिरहेका नर्सहरूले चाडपर्वमा पनि जनतालाई सचेत गराउने गरी तीज गीत गाएर महामारीविरुद्ध सन्देश छरेका हुन्। प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले नर्सहरूलाई जनचेतनामूलक गीत गाएर सन्देश दिन आग्रह गरे अनुसार उनिहरुले उक्त गीत तयार गरेका हुन्। तीज गीत गाउँदा अस्पतालमा कार्यरत नर्सहरू टीका भट्टराई, जमुना पन्थी, माधुरी ज्ञवाली, कमला कार्की, मीना पौडेल लगायत १२ जना नर्सहरूको सहभागिता रहेको बताइएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिङ इन्चार्ज ज्योति पौडेलले कोरोना भाइरसको बढ्दो संक्रमणका बेला घरमै बसेर तीज पर्व मनाउन सन्देश दिन र ड्युटीमा खटिएका स्वास्थ्यकर्मीलाई उत्प्रेरणा दिने दिनका लागि तीज गीत गाइएको बताइन् ।सोही आग्रह बमोजिम नर्सहरूले गीत गाएर रेकर्ड गरिएको भिडियो सामाजिक विकास मन्त्रालयले कोरोना लाइभ अपडेट प्रेस मिटबाट प्रशारणसमेत गरिएको थियो ।बिना काम बाहिर नडुलौं, हिँड्न परे मास्क लगाउन कहिल्यै नभुलौं, भिटामिन सी र डी पौष्टिक आहार लिनुहोस्, खाना खाँदा सरसफाइमा ध्यान दिनुहोस्, मनोबल उच्च राखौं, नकारात्मक भगाऔं, आफू सुरक्षित भई, अरु बचाउ भन्ने सन्देश गीतमा रहेका छन् ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले नर्सहरुले गीतबाट सन्देश बाडेको बताए। हामीले बोल्ने र प्रेस विज्ञप्ति जारी गर्ने कामलेभन्दा कोभिड १९ को रोगविरुद्दमा खटिने नर्सहरूले उक्त गीत कैयन गुणा सन्देशमूलक र प्रभावकारी भएको आफुलाई लागेको बताए।

Related Articles

Back to top button