News

क्यान्सर जितेकी मनिषा कोइरालाले दिइन् सञ्जय दत्तलाई उत्प्रेरणा

काठमाडौँ। चर्चित अभिनेत्री मनिषा कोइरालाले सञ्जय दत्तलाई चाँडै क्यान्सर रोग जित्न उत्प्रेरणा दिएकी छन् । सञ्जयलाई फोक्सोको क्यान्सर पुष्टि भएपछि मनिषाले यो दुखद घडीमा संयम हुन र आत्मबल दह्रो पार्न आग्रह गरेकी छिन्। सन् २०१२ मा मनिषालाई पनि चौथो स्टेजको डिम्बग्रंथिको क्यान्सर भएको थियो।

क्यान्सरलाई जितेकी मनिषाले सञ्जयलाई फोक्सोको क्यान्सर हुँदा धैर्य र बलियो रहन सन्देश पठाएकी छिन्।

मनिषाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन्, ‘बाबा (सञ्जय दत्त) तिम्रो स्वास्थ्य अवस्थाबारे सुन्नमा आउँदा धेरै दुःख लागेको छ, मलाई थाहा छ तिमीमा धेरै शक्ति छ। पहिला पनि तिमीले जीवनका धेरै कठोर संघर्षलाई पराजित गरिसकेका छौ। मलाई आशा छ, तिमीले यस अवस्थालाई पनि जितेर फर्कने छौ। तिम्रो शीघ्र स्वास्थ्य लाभका लागि प्राथना गर्दछु ।’

मनिषा कोइराला र सञ्जय दत्तले बलिउडका थुप्रै सिनेमामा काम गरिसकेका छन्। उनीहरुबीच मित्रवत सम्बन्ध छ । उनीहरुले फिरोज खानको यलगार चलचित्रमा पहिलोपटक अभिनय गरेका थिए।

त्यसपछि कारतुस, खौफ र बाघी जस्ता फिल्ममा सँगै काम गरेका थिए। मनीषा कोइरालाले फिल्म सञ्जूमा सञजय दत्तकी आमा नरगिस दत्तको भूमिका निर्वाह गरेकी थिइन् । पछिल्लो समय प्रास्थानाम नामक फिल्ममा उनले सञ्जयकी पत्नीको भूमिका निभाएकी छन् ।

Related Articles

Back to top button