News

ट्याक्सी चलाउन दिन निर्देशन, सार्वजानिक यातायातबारे के भयो निर्णय ?

काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी चलाउन दिन सरकारका नाममा निर्देशन जारी गरेको छ।

बुधबार बसेको समितिको बैठकले सुरक्षाका मापदण्डहरु अपनाएर ट्याक्सी चलाउने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।

सार्वजनिक यातायात सञ्चालनका सम्बन्धमा समेत आवश्यक निर्णय हुने समितिले जनाएको छ।

समितिद्वारा जारी सूचनामा समितिले कोरोना क्रइसिस मेनेजमेन्ट कमिटी (सिसिएमसी) र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सार्वजनिक यातयातसँग छलफल गर्ने उल्लेख छ।

आफूले ट्याक्सी चलाउन पाउनुपर्छ भन्दै ट्याक्सी व्यवसायीहरुले लामो समयदेखि आन्दोलन गरिरहेका थिए ।


ट्याक्सीसहित सार्वजनिक सवारी सञ्चालन गर्ने तयारीमा सरकार

सरकारले मोडालिटी बनाएर ट्याक्सी र सार्वजनिक सवारीहरु सञ्चालन गर्न दिने तयारी गरेको छ ।

२ जनासम्म यात्रु राख्नेगरी ट्याक्सी सञ्चालन गर्न दिने बारे तयारी भैरहेको बताइएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा ट्याक्सीसहित सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको हो ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको मन्त्रिपरिषदमा सहभागी भएका एक मन्त्रीले केटीएम दैनिकलाई जानकारी दिए ।

अब यस विषयमा अन्तिम निर्णय भने कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीमा छलफल गरेर मात्र गरिने पनि ती मन्त्रीले बताए ।

यातायात व्यवस्था मन्त्रालयले यातायात व्यवसायी लगायत सरोकारबाला पक्षसँग छलफल गरेर सीसीएमसीमा मोडालिटी पेश गर्ने र सोही अनुसार निर्णय हुने जानकारी गराइएको छ ।

ट्याक्सी सञ्चालन गर्न नपाउँदा आफुहरुको रोजीरोटी खोसिएको र बैंकको व्याज चुक्ता गर्न पनि समस्या भएको भन्दै ट्याक्सी व्यवसायीहरु निरन्तर आन्दोलनमा रहदै आएका छन् ।

Related Articles

Back to top button