News

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ परेकी छन् ।

काठमाडौं, असार ६- थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ परेकी छन् ।

काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर सिंहका अनुसार प्रहरीले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

आफ्नी आमासँग बस्दै आएकी रूपा गत मंगलबार बबरमहलमा कोठा खोज्न गएकी थिइन् । आफ्नी साथीले देखाउन लगेको कोठा रूपालाई मन परेको थियो । सुरूमा घरबेटीले कोठा दिने कुरा गरेकी थिइन् ।

भाडाको कुरा गरेपछि जातको कुरा आउँदा रूपाले घरबेटीलाई आफू कामीकी छोरी हुँ भनेकी थिइन् । त्यसपछि भने घरबेटीले कोठा नदिएकी हुन् ।

रूपा इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुन् ।

रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो ।

त्यसबमोजिम कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ ।

Related Articles

Back to top button