News

ठोरीको सीता गुफामा विशेष पूजा, रामको मूर्ति स्थापना गर्ने घोषणा

४ साउन, वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि ठोरीमा पर्छ भन्ने अभिव्यक्ति दिएपछि चर्चामा आएको ठोरीस्थित सीता गुफामा विशेष पूजा गरिएको छ । स्थानीयवासीले शनिबार सीता गुफा, वनशक्ति मन्दिर लगायतका शक्तिपिठहरुमा कलशयात्रा सहित विषेश पूजा गरेका हुन् ।

ठोरीकै अमृत धारामा जल भरेर स्थानीयले वन शक्ति मन्दिर प्रदक्षिणा गर्दै सीतागुफासम्म जलयात्रा गरेका थिए । कलश यात्रामा सहभागीहरुले राम र सीताको जयजयकार गरे । उनीहरुले सीता गुफामा पूजा गरेपछि भजनकीर्तन पनि गरे ।

गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठसहितका श्रद्धालुहरुले भगवान राम र सीता, हनुमान लगायतको वैदिक मन्त्रोच्चारण सहित पूजा अर्चना गरेको स्थानीय गोकुली रेग्मीले बताइन् । गाउँपालिकाले नै आयोजना गरेको पूजाअर्चनामा ब्राम्हणहरुले वैदिक विधिबाट स्वस्तीवाचन गर्दै सीता गुफा परिसरमा पूजापाठ गरेका उनको भनाइ छ ।

‘वर्षौंदेखि हामीले रामनवमीमा पूजापाठ गर्दै आइरहेको क्षेत्र हो प्रधानमन्त्रीको अभिव्यक्तिमा राम जन्मभूमिको प्रसंग आयो,’ उनले भनिन्, ‘त्यसैको खुसीयालीमा विशेष पूजा गरेका हौं ।’

गाउँपालिका अध्यक्ष श्रेष्ठले सीता गुफा क्षेत्रको विकासका लागि प्रारम्भिक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गर्नुको साथै र गुफा अगाडि धनुष सहितको भगवान रामको आकर्षक मूर्ति स्थापना गर्ने घोषणा गरे ।

‘सीता गुफा भएको ठाउँकै वरपर भगवान रामको पनि बसोबास हुनसक्ने सम्भावना बढी छ । ठोरीमा सीता गुफा, अमृत धारा, सीता कुण्ड जस्ता ठाउँहरु छन् । यी ठाउँहरुले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई आधार प्रदान गर्छ । बाँकी त पुरातत्वविदहरुबाट अनुसन्धान गरिनुपर्छ,’ उनले भने सीता गुफा वरपरका क्षेत्रको विकासका लागि गाउँपालिका स्तरबाट सम्भव भएसम्मका सबै काम गर्ने र वृहत् विकासका लागि संघ तथा प्रदेशमा अनुरोध गर्ने उनले बताए ।

स्थानीय प्रकाश खनालले ठोरीलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सरकारले पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।
Onlinekhabar बाट

Related Articles

Back to top button