International

३०० पटक उठबसको सजाय दिंदा एक जनाको ज्यान गयो

काठमाडौँ, २४ चैत । कोरोनाभाइरस नियन्त्रणका लागि लागु गरिएको क्वारन्टीन नियमको अवज्ञा गरेको भन्दै प्रहरीले दण्डस्वरूप ३०० पटक उठबस गराएका फिलिपिन्समा एक व्यक्तिको मृत्यु भएको उनको परिवारले जनाएको छ।

बिहीवार स्थानीय समयानुसार साँझको ६ बजेपछि कभाइट प्रान्तमा पानी किन्दै गरेका ड्यारेन मानाओग पेनारेडोन्डोलाई प्रहरीहरूले रोकेका थिए। दण्ड पाएको भोलिपल्ट उनी अचेत भएर लडे र त्यसको केही समयमै उनको मृत्यु भयो।

कोभिड महामारी नियन्त्रण गर्ने उद्देश्यले लुजोन टापुस्थित कभाइ प्रान्तमा कडा लकडाउन गरिएको छ । जेनरल ट्राएस सिटीका प्रहरी प्रमुख मार्लो सोलेरोले कर्फ्यूसम्बन्धी नियम उल्लङ्घन गर्ने व्यक्तिलाई भौतिक दण्ड दिने नियम नभएको र उनीहरूलाई प्रहरीले सम्झाइबुझाइ मात्रै गर्ने गरेको बताएका छन् । तर सजाय दिएको पाइए त्यो अस्वीकार्य हुने उनले स्थानीय सञ्चारमाध्यमहरूलाई बताएका छन् ।

पीडितका एक आफन्त एड्रिएन लुसेनाले पेनारेडोन्डोको मृत्यु भएको जानकारी फेसबुकबाट दिएका थिए ।

‘३०० पटक उठबस’
उनका अनुसार पेनारेडोन्डो र लकडाउनसम्बन्धी नियम उल्लङ्घघन गर्ने अन्य केही व्यक्तिलाई प्रहरीले एकै पटक सकिने गरी १०० पटकसम्म उठबस गर्न लगाएको थियो ।

उनका अनुसार सबैले एकै पटक त्यसो गर्न नसके पूरा व्यायाम दोहोर्‍याउनुपर्ने आदेश दिइएको थियो । त्यसैले उक्त समूहका सबै जना ३०० पटक उठबस गर्न उठबस गर्न बाध्य भएको बताइएको छ।

पेनारेडोन्डो स्थानीय समयानुसार शुक्रवार बिहान करिब ६ बजे घर पुगेको उनका भाइले जानकारी दिए । सँगै बस्दै आएकी प्रेमिकाले स्थानीय सञ्चारमाध्यमलाई पेनारेडोन्डो शुक्रवार दिनभरि हलचल गर्न गाह्रो महसुस गरेको बताइन् ।

“दिनभरि उनलाई हिँड्न असहज भइरहेको थियो र उनी बामे सरिरहेका थिए। तर उनले यो सामान्य शारीरिक दुखाइ मात्रै रहेको बताएको हुँदा मैले त्यति धेरै गम्भीर रूपमा लिइनँ,” रेचेलिन बाल्सले भनिन्।

त्यसको भोलिपल्ट उनी अचेत भएर लडे र केही समयमा सास फेर्न छाडे । बाल्सले उनको सास फर्काउन छिमेकीहरूसँग सहयोग मागिन्। तर केही समयमै उनको मृत्यु भइसकेको थियो।

‘यातना’

त्यहाँका नगरप्रमुखले प्रहरीलाई गहन अनुसन्धान गर्न निर्देशन दिएको बताएका छन्। उनले त्यस्तो सजायलाई “यातना”को सङ्ज्ञा दिएका छन्।

केही समयअघि मात्रै ह्यूमन राइट्स वाचले फिलिपिन्समा नियम नमान्ने मानिससँग दुर्व्यवहार भएको जनाएको थियो।

उक्त अधिकारवादी संस्थाले मानिसहरूलाई कुकुरको खोरमा हालेको अनि घाममा बस्न बाध्य पारेको पाइएको बताएको छ।

बिहीवार गरिएको टेलिभिजन सम्बोधनका क्रममा फिलिपिन्सका राष्ट्रपतिले सर्वसाधारणहरूलाई लकडाउनसम्बन्धी नियमहरूको उल्लङ्घन नगर्न आह्वान गरेका थिए।

उनले भने, ”म हिचकिचाउने छैन। म प्रहरी, सेना अनि गाउँका अधिकारीहरूलाई निर्देशन दिन्छु कि यदि समस्या उत्पन्न भयो वा हिंसा भयो र तपाईँहरूको जीवन जोखिममा पर्‍यो भने उनीहरूलाई गोली प्रहार गरी मार्नू।’विविसी।

Related Articles

Back to top button