News

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

१७ चैत, काठमाडौं । दाङ, सुनसरी र जुम्लामा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । दाङको बबई गाउँपालिका–३ पीसीओ चोकमा रा ६ प १४४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–५ का २० वर्षीय गोविन्द पुन रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै सुनसरीको दुहबी नागरपालिका–१० नहरचोकमा दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाई भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । को ९ प ७००० र को ४ प ६११२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा को ४ प ६११२ नम्बरको मोटरसाइकल चालक सुनसरी गढी गाउँपालिका–२ सखुवारे कलरुवाका ३२ वर्षीय सञ्जय चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका को ९ प ७००० नम्बरको मोटरसाइकल चालकको जीवन ज्योति अस्पताल दुहबीमा उपचार भइरहेको छ ।

यसैगरी जुम्लाको तिला गाउँपालिका–५ चुलाकोटमा भे २ त ५०४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँका नन्दबहादुर बुढाका ६ वर्षीय छोरा अंकुश बुढाको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related Articles

Back to top button